काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।
सूर्यबहादुर थापा प्रतिष्ठानले बिहिबार पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङ रहेका छन् ।
करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । कुशल १० औं सागका स्वर्ण विजेता खेलाडी पनि हुन् ।
उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापालगायलते दोसल्लाका साथै जनही नगद २५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए । खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएको कारण खेलाडी र प्रशिक्षकलाई
सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा थापाले सीमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए ।