पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी संगीता राईले कास्य पदक जितेकी छिन् ।
माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबार संगीताले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित कास्य जितेकी हुन् ।
संगीताले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी थिइन् । संगीताले करिना चौधरीको नाममा रहेको रेकर्ड भंग गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको थियो ।
सो इभेन्टमा भारतकी झिली डालाबेराले स्न्याचमा ६६ र क्लीन एण्ड जर्कमा ८५ गरी १५१ भार बहन गर्दै स्वर्ण जितिन् भने श्रीलंकाकी सीमारी सामाराकुलले १ सय ३९ भार गर्दै रजत जितिन् । श्रीलंकन खेलाडीले स्न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ८१ केजी भार बहन गरेकी हुन् ।
यसैगरी, ४९ केजी महिलातर्फ भारतले स्वर्ण जित्यो । प्रतियोगितामा श्रीलंकाले रजत र बंगलादेशले कास्य जितेको छ ।
भारतकी स्नेहा सोरेनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८९ गरी कुल १५७ केजी भार बहन गर्दै श्रीलंकन खेलाडी हसानीलाई पछि पारिन् । हसानीले स्न्याचमा ७१ र क्लीन एण्ड जर्कमा ८४ गरी कुल १५५ केजी भार बहन गर्दै रजतमा सीमित भइन् । बंगलादेशकी मोला सविराले १३० केजी भार बहन गर्दै कास्यमा चित्त बुझाइन् । उनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ७५ केजी भार बहन गरेकी हुन् ।