धनगढी । धनगढीमा पहिलो पटक सुदूरपश्चिममा स्पोर्टस अवार्ड हुने भएको छ ।
खेलकद पत्रकार मञ्च कैलालीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डबारे जानकारी गराएको हो । आयोजक मञ्चले आगामी पौष १५ गते स्पोर्टस अवार्ड गर्ने घोषणा गरेको हो ।
‘सुदुरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ,’ खेलकद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले भने ।
अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने योजना समेत रहेको खेलकुद पत्रकार मञ्चले जनाएको छ ।