पोखरा । १३ औं साग अन्तर्गत पोखरामा आयोजना हुने ट्राईयाथलन खेलको प्रतिस्पर्धा भोली सोमबारबाट बिहान हुने छ ।
भोली हुने ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिला तर्फ सोनी गुरुङ्ग र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।
खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साईकल र ५ किलोमिटर दौड पुरा गर्नेछन् ।
भोली बिहान हुने प्रतिस्पर्धाका लागि आज खेलाडीहरुको दर्ता, साईकल तथा खेलाडीहरुले लगाउने पोशाक परिक्षण गरिएको छ ।
त्यस्तै प्रतिस्पर्धामा खटिने निर्णायकहरुलाई टेक्निकल डेलिगेटले बिस्तृत जानकारी तथा खेलस्थलका बारेमा जानकारी प्रदान गरेका छन् । खेललाई निश्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न निर्णायकहरुलाई निर्देशन दिईएको छ ।
फेवातालमा हुने प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी भएको छ । खेलाडीहरुको लागि तालमा एकै साथ डाईभ गर्न मिल्ने प्लटुन नेपालमा पहिलो पटक प्रयोग गरिएको छ ।
दुई स्वर्ण पदकको छिनोफानो भोली सोमबार नै हुनेछ। प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्का गरि तीन देशको सहभागिता रहेको छ ।