काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको महिलामा नेपालले विजयी सुरुवात गरेको छ ।
आइतबार किर्तिपुरमा भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई ११-९ अंकले पराजित गर्यो ।
सुखद सुरुवात गर्ने क्रममा नेपालले बंगलादेशविरुद्ध दुई पईन्ट एक टर्नका साथ सहज जित दर्ता गरेको हो ।
जितसँगै नेपाली महिला टिमले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।
पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अंक जोड्यो । दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई जम्मा ५ अंक जोड्न दियो । पहिलो इनिङको समाप्तिमा नेपाल ११-५ को बलियो स्थितिमा रह्यो ।
दोस्रो इनिङको पहिलो टर्नमा बंगलादेशले ४ अंक मात्रै जोडेपछि नेपाल एक टर्न अगिनै जित निकाल्न सफल भयो ।
जित पछि बोल्दै नेपाली टिमकी सहायक प्रशिक्षक उषा मगरले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा सहज जित भएको बताइन ।
'खेलाडी राम्रो खेल, त्यसैले सहज जित निक्लियो,´ उनले भनिन् । यस्तै उनले टिम बलियो रहेको र फाइनल सहजै पुग्ने समेत दाबी गरिन ।
अब नेपालले भोलि ( सोमबार ) बिहान भारतको सामना गर्नेछ । आज नै दोस्रो खेलमा भारत र श्रीलंका भिड्नेछन् ।
महिलातर्फ अर्को खेलमा भारतले श्रीलंकालाई ३२–४ ले हरायो ।