काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् ।
केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् ।
सागमा नेपालकोतर्फबाट डेपुटी सेफ द मिसन रिम रानाभाटले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा पारसले बोक्ने टुङ्गो लागेको बताए ।
'पारसले नै देशको झण्डा बोक्नु हुनेछ ।' उनले खेलपाटीसंग भने ।
खेल जिवनमा प्राप्त गरेको सफलताका आधारका ठुला प्रतियोगितामा खेलाडीको नेतृत्व गर्दै देशको झण्डा बोक्न दिने प्रचलन छ ।
घरेलु भूमिमा आईतबारबाट औपचारिक रुपमा सुरु हुने १३ औं सागमा पारसले सो अवसर प्राप्त गरेका हुन् ।
राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा उनले नेपाललाई विश्वकपसम्मको यात्रा तय गराएका थिए । उनकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
‘खेलाडीको रुपमा उनले गरेको योगदानको मुल्याङ्कन गर्दै खेलाडीको झण्डा बोक्न दिने तयारी हो ।’ राखेपका एक अधिकारीले खेलपाटीसंग भने ।
तयारी अन्तिम चरणमा
सागको उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन सत्रमा करिब ७ हजार मानिसले प्रर्दशन गर्ने तयारी गरेका छन् ।
राखेपका अनुसार उद्घाटन सत्र ३ घण्टा ४० मिनेटको हुनेछ । दिउँसो ३ बजे सुरु उद्घाटन सत्रको औपचारिक सुरुवात हुनेछ ।
उद्घाटनको अघिल्लो दिन ग्रान्ड रिहलसलको तयारी गरिएको छ ।