काठमाडौं । नेपालमा आइतबारबाट सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन स्विमिङ पुलमा शुक्रबार पानी राखिने भएको छ ।
साग आयोजक समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले शुक्रबार हिटिङ सिस्टमको स्विमिङ पुलमा पानी राखिने बताए ।
'बिहिबार स्विमिङ पुल भ्रमण गरेको थिएँ । भोलि त्यहाँ पानी राख्ने काम हुन्छ,' सदस्य सचिव सिलवालले भने ।
सागको लागि तीब्र गतिमा निर्माण भईरहेको स्विमिङ पुल अझै बनिसकेको छैन । जसको कारण खेलाडीले अन्य स्थानमा तयारी गरिरहेको छ ।
यस्तै सदस्य सचिव सिलवालले सागको सम्पूर्ण तयारी बिहिबार साँझबाट सकिने बताए ।
'बिहीबार रातिबाट हाम्रो सम्पूर्ण तयारीको काम सकिनेछ,' सदस्य सचिव सिलवालले भने, 'दशरथ रंगशालाको भीआईपी प्यारापिटतर्फ सिट राख्ने काम आज राति सकिनेछ ।'
सदस्य सचिव सिलवालले पोखरा रंगशालामा १३ हजार दर्शक क्षमताको सिट जडान हुने बताए ।