काठमाडौं । नेपालमा अर्को साताबाट सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा कुल २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको छ ।
समितिका संयोजक महेन्द्र राईले सागको २६ खेलमा २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहभागी हुने खेलपाटीलाई जानकारी गराए ।
सागमा आयोजक नेपालबाट सर्वाधिक धेरै खेलाडी सहभागी हुनेछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ अफिसियल सहभागी हुनेछन् ।
यस्तै भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसियल सहभागी हुँदा बंगलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल सहभागी हुनेछन् ।
श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८६ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल सहभागी हुनेछन् ।
त्यस्तै माल्दिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल र भुटानबाट १ सय १७ खेलाडी र २७ अफिसियलले सहभागिता जनाउने छन् ।
सागमा कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
साग मंसिर १५ बाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । भलिबलका खेलहरु भने आज (बुधबार) बाटै सुरु हुनेछ ।