काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि हुने भएको छ ।
नेपालमा आयोजना हुने १३ औं साग नजिकिदै गर्दा सरकारले पदक विजेताको पुरस्कार रकममा वृद्धि गरिने जानकारी गराएको हो ।
साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार रकम वृद्धि हुने बताए ।
'सागको पुरस्कार राशिमा उलेख्य वृद्धि हुन्छ । खेलकुद मन्त्रीले प्रस्ताव गरोस, पुरस्कार राशि वृद्धिबारे मन्त्रिपरिषद्ले निर्णय गर्छ,' अर्थमन्त्री खतिवडाले भने ।
तर, अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदबाट पारित नभई यति रकम वृद्धि हुने भनेर भन्न नसकिने बताए ।
यस अघि सरकारले १२ औं सागमा स्वर्ण विजेतालाई ३ लाख पुरस्कारबाट पुरस्कृत गरेको थियो । यस्तै रजत विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाखले पुरस्कृत गरेको थियो ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । नेपालले यस पटक ५० बढी स्वर्ण जित्ने लक्ष्य बनाएको छ ।