काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई आज (मंगलबार) सम्मान गर्दैछ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले महिला भलिबल टिमलाई सम्मान गर्न लागेको हो ।
बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सम्मान गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले उपाधि विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।
सोही पुरस्कार रकम प्रधानमन्त्रीमार्फत खेलाडीलाई दिन लागिएको हो ।
साग खेलाडीलाई सम्मान
यस्तै प्रधानमन्त्री ओलीले सागलाई लक्षित गर्दै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सागमा सहभागी हुने खेलाडीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमा प्रधानमन्त्रीले सागमा विजयी बन्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्न सक्ने बताईएको छ ।
सोही कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागको संघारमा प्रधानमन्त्रीको सम्बोधन राखेको हो ।
सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधिन दशरथ रंगशालाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।