काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने सबै देशका खेलाडी र पदाधिकारीको दुर्घटना बीमा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपको सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार बीमा कम्पनि आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको छ ।
राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
आगामी साताबाट सुरु हुने १३ औं सागको दौरान हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजगर गर्दै राखेपले आइएमईसँग पाँच लाखको बीमा गरेको हो । सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ ।
साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।