काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपतिले गर्ने तय भएको छ ।
नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुदको महाकुम्भ खेलकुद मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको हो ।
नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ ।
काठमाडौंको दशरथ रंगशालामा मंसिर १५ गते एक भब्य कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन हुने तालिका तय छ ।
यसअघि राष्ट्रप्रमुखबाट सागको उद्घाटन हुदै आएको थियो ।
नेपालमा यसअघि सन् १९८४ र १९९९ मा साग आयोजना भएको थियो । दुवै संस्करणलाई तत्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उद्घाटन गरेका थिए ।
त्यसैले तेस्रो पटक नेपालमा आयोजना हुन लागेको सागलाई समेत राष्ट्रप्रमुखबाट उद्घाटन गराउने तय भएको हो ।
यस्तै, सागको उद्घाटन अघि सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले बिशेष सम्बोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्री ओलीले आगामी मंगलबार साग खेलकुदको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
खेलाडीको मनोबल बढाउन र साग खेलकुदको आयोजनामा सबैको सहभागीताका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
सोही दिन उनले सागका लागि तयार पारिएका भौतिक पुर्वाधारका साथै दशरथ रंगशालाको निरिक्षण गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।