काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न खेलका लागि २ हजार ३५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियल खटिने भएका छन् ।
१३ औं सागको प्राविधिक समितिले शनिबार पत्रकार सम्मेलन गर्दै २६ खेलमा २ हजार ३५ अफिसियल खटिने जनाएको हो ।
जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरि ६ सय १३ जना नेपाल आउने छन् भने राष्ट्रिय स्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना रहेको छ । यस्तै प्रावधिक सहायकको रुपमा ६ सय ९० जनशक्ति परिचालन हुने छन् ।
सागमा खटिने जनशक्ति मध्ये सर्वाधिक धेरै काठमाडौंमा १५ सय २, पोखरामा ४ सय ९१ र जनकपुर ४२ जना खटिने समितका संयोजक गंगा बहादुर मगरले जानकारी गराए ।
यस्तै समितिले सागमा सहभागि भएका खेल संघहरुसँग समन्वय गरी प्रशिक्षक एवम प्राविधिक जनशक्ति परिचालन, पदक निर्धारण, खेलस्थल एवम खेल अवधि निर्धारण, प्राविधिक पुस्तिका तयारी, प्रकाशन सम्बन्धि काम सकिसकेको मगरले जानकारी गराए ।
सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने समेत जानकारी गराइएको छ ।
समितिले अन्तर्राष्ट्रिय रेफ्रि, जज, जुरी, अम्पायर लगाएत उच्च स्तरीय प्राविधिक डेलिगेट्सहरुलाई नेपाल आउन र उनीहरुको व्यवस्थापनका लागि काम गरिसकेको जनाएको छ ।
त्यस्तै समितिले प्रतियोगिताको दौरानमा अपिल तथा विवाद समाधानका लागि सम्बिन्धित खेलकोे नियमानुसार जुरीले समिति गठन गर्न पाउने अधिकार सम्बन्धित संघलाई दिएको छ ।