काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्चको र्याली सुरु भएको छ ।
सागको ओलम्पिक टर्च सात वटै प्रदेशको परिक्रमा गराउने उदेश्यले शुक्रबारबाट र्याली सुरु भएको हो ।
स्वयम्भुनाथमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब रमेश सिलवालले टर्च प्रज्वलन गर्दै ओलम्पिक टर्च र्याली सुरु भएको हो ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको संयोजनमा सुरु भएको पहिलो दिन शुक्रबार विराटनगर पुर्राईने छ । दोस्रो दिन विराटनगरबाट धनुषा र जनकपुरमा पुर्राईनेछ ।
यसैगरी तेस्रो दिन हेटौंडा र चितवन तथा चौंथो दिन लुम्बिनी र बुटवलमा परिक्रमा गरिनेछ । पाँचौं दिन सुर्खेत र नेपालगञ्जमा परिक्रमा गरिदा छैंठौ दिन धनगढी लगिने छ ।
सातौं दिन पोखरामा परिक्रमा गरि आठौं दिन काठमाडौं ल्याईनेछ । त्यसपछि नवौं दिन सागको उद्घाटन समारोह स्थल दशरथ रंगशालामा लगिने छ ।
ओलम्पिक टर्च परिक्रमा कार्यक्रममा सागमा सर्वाधिक स्वर्ण विजेता दिपक विष्ट, एथलेटिक्सका किर्तीमानी खेलाडी बैकुण्ठ मानन्धर, एथलेटिक्सका स्वर्ण विजेता राजेन्द्र भण्डारी, पौडीकी स्वर्ण विजेता नयना शाक्य, बक्सिङका उमेश मास्के सहभागी हुनेछन् ।
यसैगरी जुडोका देवु थापा, एथलेटिक्सका जीत बहादुर के.सी, ज्ञान बहादुर बोहरा, राजकुमारी पाण्डे, कान्छीमाया कोजु, मुकुन्दहरी श्रेष्ठ, सुटिङका टिकाराम श्रेष्ठ र स्वर्ण विजेता दिपक श्रेष्ठको सहभागिता रहनेछन् ।
१३ औं साग मंसिर १५ देखि १४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ ।