काठमाडौं । दशरथ रंगशालाको भिआईपीतर्फको छानो हाल्ने काम सुरु भएको छ ।
आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन र समापनका लागि मुख्य स्थलको रुपमा रहेको रंगशालाको छानो हाल्ने काम बुधबारबाट सुरु गरिएको हो ।
भुकम्पले क्षतिग्रस्त बनेको दशरथ रंगशाला सागको तयारीका लागि धमाधम पुननिर्माण भईरहेको छ ।
रंगशालाको अन्य निर्माणको काम अन्तिम चरणमा पुगेपनि भिआईपीतर्फको छानो र ट्रस्ट हाल्ने काम संगसंगै अघि बढेको छ ।
‘१५ वटा ट्रस्ट मध्य ८ वटा हालेर सकिएको छ । अब ७ वटा ट्रस्ट बाँकी छ ।’ युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलपाटीसंग भने, ‘ट्रस्टसंगै छानो हाल्ने काम संगसंगै अघि बढ्छ ।’
करिब एक हप्तामा रंगशालाको पुननिर्माणको काम सम्पन्न गरिसक्ने मन्त्री विश्वकर्माको तयारी छ ।
‘ट्रस्ट हाल्न अब बढीमा तीन दिन लाग्नेछ । छानो हाल्न ६ दिनसम्म लाग्न सक्छ ।’ मन्त्री विश्वकर्माले भने, ‘तर एक हप्तामा भिआईपी लगायत रंगशालाको सम्पुर्ण काम सम्पन्न भईसक्नेछ ।’
निर्धारित मितिमा रंगशाला तयार नभएपछि दिउँसो र बेलुका गरि दुई समयमा काम भईरहेको छ ।
एक सिफ्टमा करिब सय कामदार छानो हाल्ने काममा लागेको मन्त्री विश्वकर्माले बताए ।
‘भिआईपीतर्फको साउण्ड सिस्टम सागपछि जोड्ने सम्भावना बढी छ । अहिले अन्य साउण्डले काम चलाउने तयारी छ ।’ उनले भने, ‘साग लगत्तै स्थायी प्रकृतिको साउण्ड सिस्टम जोडिनेछ ।’
रंगशालाको भिआईपीतर्फको छानो एक हप्ता अघि काठमाडौं आएको थियो ।
स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चीनियाँ विमानमार्फत कार्गो गरेर हप्ता दिन अघि छानो नेपाल ल्याईएको थियो ।
भिआईपी बाहेक अन्य निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साधारणतर्फको प्यारापिटमा सिट जडानको काम लगभग सकिएको छ । सेन्थेटिक ट्रयाक चीनियाँ सरकारले निकै अगाडीनै तयार गरिदिएको थियो ।
अहिले रंगशालाको गेट निर्माण, रंगरोहन र सजावटका कामहरु भईरहेका छन् । संगै भिआईपीतर्फको ड्रेसिङ रुमहरु बनाउने काम अन्तिम चरणमा पुगेको छ ।