काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालबाट ५ सय ९६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
साग तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालबाट कुल ५ सय ९६ खेलाडीले सहभागिता जनाउने जानकारी गराएको हो ।
सागमा नेपालले सबै २७ खेलमा प्रतिस्पर्धा गर्ने छन् । जसमा ३ सय ९ पुरुष र २ सय ८४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक रिम बहादुर रानाभाटले जानकारी गराए ।
यस्तै रानाभाटले सागमा नेपालले कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको समेत बताए ।
सागका लागि बन्द प्रशिक्षणमा रहेका ११ सय ९७ खेलाडीबाट नेपालले ५ सय ९६ खेलाडी छनोट गरेको हो । नेपालले सागलाई लक्षित गरी गत जेठ पहिलो साताबाट प्रशिक्षण थालेको थियो ।
यस्तै तयारी समितिले नेपाली टिमको तयारीबारे समेत जानकारी दिएको थियो ।
सागका लागि १२ खेलको प्रशिक्षण विदेशमा र बाँकी नेपालमै भईरहेको समितिले जनाएको छ ।
त्यस्तै साग बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले वैदेशिक प्रतियोगितामा सहभागी हुँदा विभिन्न उपलब्ध समेत हासिल गरेको समितिले जनाएको छ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।