काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ब्रोडकाष्टिङ अधिकार भारतीय कम्पनि एन के मिडिया भेन्चर प्रालिले पाएको छ ।
१३ औं साग आयोजक मूल समितिले आइतबार एन के मिडिया भेन्चरसँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको छ ।
सम्झौता पत्रमा एन के मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतासँगै ब्रोडकाष्टिङ अधिकार बापत एन के प्रालिले ८ करोड उपलब्ध गराउने छ ।
साग खेलकुदको इतिहासमा पहिलो पटक ब्रोडकाष्टिङ पार्टनरसँग सम्झौता भएको हो ।
सम्झौतासँगै एन के मिडिया अन्तर्गतको नक्षत्र न्युजले सागको २७ खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । यस्तै खेलको भिडियो र हाइलाइट मिडिया सेन्टरमा उपलब्ध गराउने छ ।
नक्षत्रलाई नेपाल टेलिभिजनले प्रोडक्सनमा सघाउने छ । नेपाल टेलिभिजनबाट समेत सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
त्यसबाहेक कम्तिमा १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ । र, सागको काउन्ट डाउन सुरु भईसकेको छ ।
सागको यस संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुनेछ । साग अन्तर्गत काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेल हुनेछ ।
सागको यस संकरणमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ७८ कास्यसहित कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।