काठमाडौं । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका सिएम कृष्ण थापाले एकल अग्रता कायम गरेका छन् ।
बुधबार छैटौं चरणको समाप्तिबाट अग्रता बनाएका कृष्णले सातौं चरणमा सजिन मर्हजनलाई हराए । यसैगरी उनले आठौं चरणमा भारतका सुमित ग्रोभरसंग बराबरी गरे ।
कृष्णको सात अंक हुदा दोश्रो स्थानमा रहेका सुमितको ६.५ अंक छ । सुमितले सातौं चरणमा सुसील चौधरीलाई हराएका हुन् ।
यी दुईलाई पछ्याएका नेपालका पुरुषोत्तम चौलागाई र भारतका आर्नभ कुशहवाको ६ अंक छ । आठौं चरणमा यी दुइको बराबरी भएको हो ।
यस अघि सातौं चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी तथा पुरुषोत्तमले प्रकास नेपालसंग बराबरी गरेका थिए ।
बुधबार नै रिजेन्द्र राजभण्डारी र भारतकी सन्ध्या जी विचको खेलको परिणामले खेलको समिकरणलाई धेरै प्रभाव पर्ने छ । सातौं चरणको समाप्तिमा रिजेन्द्रको ५ अंक छ ।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।
यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।