काठमाडौं । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप रोमाञ्चक मोडमा पुगेका छन् ।
पाँच चरणको समाप्तिमा पाँच खेलाडी ४.५ अंक सहित संयुक्त शीर्ष स्थानमा रहेपछि प्रतियोगिता रोमान्चक मोडमा पुगेको हो ।
नेपालका सजिन मर्हजन, रिजेन्द्र राजभण्डारी,प्रकास नेपाल र कृष्ण थापा तथा भारतका सुमित ग्रोभर शीर्ष स्थानमा रहेका छन् ।
चौथो चरणसम्म अग्रता कायम गरेका रिजेन्द्र र सजिनबीच पाँचौ चरणमा बराबरी भयो । प्रकास नेपालले सुरविर लामा,सुमितले भारतकै सुभम शुक्ला र कृष्णले निकेन कुसाथालाई हराए ।
यसैगरी, नेपालका पुरुषोत्तम चौलागाइ र सुश्रुत दाहालको साथमा भारतका आर्नभ कुशहवा,पाकिस्तानका मोहम्मद सहजाद र मलेसियाका इसाक अहुफीजुलको चार अंक छ ।
सुश्रुतले सुरोज मर्हजन,पुरुषोत्तमले काजकस्तानका गब्दुसेभ अमार्न तथा इसाकले आफ्नै देशका ली सोइ हकलाई हराए । साहजादले इरानका अल्भीर मिर मोहम्मदलाई हराए । भारतका युवा खेलाडी आर्नभले नेपालका प्रेमकृष्ण मर्हजनसंगको खेलमा जित हात पारे ।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।
प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।