काठमाडौं । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तेस्रो पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ ।
राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा रेकर्डधारी पार्कर दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
ब्यालेन्स ग्रुप अफ कम्पनीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेशलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
दिनेशले 'द मस्ट ट्विस्टिङ्ग ब्याक फ्लिप्स इन बाल' मा रेकर्ड बनाएका हुन् । ३० सेकेण्डमा दिनेशले १२ पटक ट्विस्टिङ्ग ब्याक फ्लिप्स गरेका थिए ।
दिनेश अमेरिकाको चर्चित टिभी कार्यक्रम अमेरिका गट ट्यालेन्टका लागि समेत छनोट भएका छन् । अमेरिका गट ट्यालेन्टमा सहभागी हुने दिनेश पहिलो नेपाली खेलाडी हुन् ।
यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय मुवाथाई संघले दिनेशलाई मानर्थ सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । संघका अध्यक्ष गणेश लाल कक्षपतिले उनलाई मानर्थ सदस्यको प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा दिनेशलाई पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका पूर्व आईजीपी सनत कुमार बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए ।