काठमाडौं । दोस्रो संस्करणको नेपाल ई स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट सुरु हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा दुई दिन चल्ने च्याम्पियनसिपमा डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो), फिफा, कस्प्ले र फ्री फायर गरी ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।
डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) खेलको हरेक टोलीमा ५ खेलाडी रहने छन् । यसपटकको डोटा च्याम्पियनले ११ औं विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने छन् । विश्व च्याम्पियनसिप सन् २०१९ को डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुनेछ ।
डोटा–२ र सीएस–गो प्रतियोगिताको विजेताले ५० हजार, उपविजेता र तेस्रोले समान २०/२० हजार नगद पाउनेछन् ।
फिफातर्फको विजेताले १० हजार, उपविजेता र तेस्रोले ४/४ हजार पाउनेछन् ।
कस्प्लेको विजेताले २० हजार र शीर्ष ८ मा पर्ने सबै खेलाडीले जनही १०–१० हजार पाउनेछन् । फ्कोरी फायरको विजेताले १५, उपविजेताले ६ र तेस्रोले ४ हजार पाउनेछन् ।