काठमाडौं । नेपालमा सम्पन्न पहिलो संस्करणको दक्षिण एसियाली यू-१६ नेटबल च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी सर्वोकृष्ट खेलाडी बनेकी छिन् ।
श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सर्वोकृष्ट खेलाडी बन्दै नेथमी ‘प्लेअर अफ द च्याम्पियनसिप’ चुनिएकी हुन् ।
च्याम्पियनसिपमा श्रीलंका कै हिरुनी हासनी ‘बेस्ट स्कोरर’ बनिन् । प्रतियोगिता अवधिभर उनले १ सय ५८ अंक जोडेकी थिइन् ।
यस्तै, माल्दिभ्सकी मिस्का अफ्राह हासन बेस्ट डिफेन्डर घोषित भईन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२-२८ ले हराउँदै श्रीलंका च्याम्पियन बनेको थियो ।
च्याम्पियनसिपमा नेपाल भने चौंथो भएको छ । मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग ३५-२५ ले पराजित भएपछि नेपाल चौंथो भएको हो ।
नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।