काठमाडौं । पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२-२८ ले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
पहिलो क्वाटरमा ८-८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वाटरमा भने १६-४ को अग्रता बनाएको थियो । यस्तो तेस्रो क्वाटरमा ११-८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वाटरमा ८-७ ले पछि परेपनि उपाधिमा कब्जा जमाउन सफल भयो ।
च्याम्पियनसिपमा आयोजक नेपाल भने चौंथो भएको छ । मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग ३५-२५ ले पराजित भएपछि नेपाल चौंथो भएको हो ।
नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।