काठमाडौं । नेटबल खासै सुनिएको खेल हैन । खेककुदमै लाग्नेहरु समेत यसबारे अनविज्ञ छन् । तर, नेपालमा पहिलो पटक दक्षिण एसियाली स्तरको नेटबल प्रतियोगिता भईरहेको छ ।
आयोजकको अपेक्षा छ, प्रतियोगिता आयोजनाले नेपालमा समेत नेटबलको लोकप्रियता बढ्नेछ ।
ललितपुरको लगनखेलस्थित आर्मीको कर्भडहलमा भईरहेको प्रतियोगितामा आयोजक नेपाल सहित पाँच देश छन् । भारत, पाकिस्तान, माल्दिभ्स र श्रीलंका पनि खेल्न आएका छन् ।
प्रतियोगिताको आयोजना नेपाल नेटबल संघले गरेको हो । ईतिहास हेर्दा, बास्केटबलसंगै नेटबलको जन्म भएको हो ।
तर, बास्केटबल जसरी यसले हुर्कन बढ्न पाएन । अझ नेपालमा भर्खरै भर्खरै नेटबल बामे सर्न खोज्दैछ । संघमा नयाँ कार्यसमिति आएपछि यसले नयाँ आकार पाउन थालेको हो ।
नेपालमा नेटबलको विधिवत स्थापना भने सन् २०११ मा भएको हो ।
नेपालमा खासै लोकप्रिय नभएपनि अन्तर्राष्ट्रिय जगतमा नेटबल प्रख्यात छ ।
नेटबल महिलाका लागि उत्कृष्ट अवसर रहेको संघका उपाध्यक्ष महेश नेपाली दाबी गर्छन् ।
‘यो खेल अन्तर्राष्ट्रिय स्तरमा महिलाको मात्र हुन्छ । महिला सशक्तीकरणका लागि खेलाडीले रुचाएको खेल समेत हो । नेटबल अरु खेलमा जस्तो हुँदैन । महिललाई अघि बढाउने यो उत्कृष्ट प्लेटफर्म हो ।’ उनले थपे, ‘विदेशतिर पुरुष टिम पनि हुन्छन् तर हामीले महिला टिमलाई मात्र केन्द्रित गरेका छौं ।’
नेपाली खेल क्षेत्रमा गुमनाम रहेको नेटबल अब खेलाडी उत्पादनमा केन्द्रित छ । पूर्व मिस नेपाल अस्मि श्रेष्ठ र मोडेल, नायिका माला लिम्बु नेटबलकै खेलाडी हुन् ।
सन् २०१२ मा श्रीलंकामा भएको एसियन च्याम्पियनसिपमा अस्मि र मालाले सहभागिता जनाएका थिए ।
ब्रुनाईमा भएको युथ यु–२१ च्याम्पियन, कोरियामा भएको स्कुल च्याम्पियनसिप, सिंगापुरमा भएको प्रतियोगितामा समेत नेपालले निरन्तर सहभागिता जनाउदै आएको छ ।
अन्र्तराष्ट्रिय स्तरमा धेरै प्रतियोगितामा सहभागिता जनाएको नेटबलले पदक जित्न नसके पनि सक्दो राम्रो प्रर्दशन गरिरहेको उपाध्यक्ष नेपाली दाबी गर्छन् ।
‘नेटबलबाट पदक भित्राउन नसकेपनि सक्दो राम्रो प्रदर्शन दिएका छौं । खेलेका छौं ।’ उनले भने ।
अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय नेटबलप्रति नेपालमा विद्यालयस्तरमा रुचि बढेको छ । संघ स्थापनाको ८ वर्षमा विद्यालयस्तर आकर्षण बढाउन सक्नु निकै ठुलो सफलता रहेको नेपाली बताउँछन् ।
नेटबलको इतिहासमा नेपालले अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । नेपालमै जारी प्रतियोगितामा समेत नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।
‘हाम्रो टिमको प्रर्दशन मध्यम स्तरको छ । तर आफुले सक्ने खेलेका छौ ।’ उनले भने, ‘लामो समय राज्यको वेवास्तामा रह्यौ । दक्षिण एसियाली स्तरको प्रतियोगिता हामी आफैले गरेका हौ ।’
‘अब संघको आफ्नै कर्भडहल हुनेछ । जुन नार्गाजुन नगरपालिकामा बनाउने तयारीमा छौ ।’ उनले थपे ।