काठमाडौं । नेपाल पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको सेमिफाइनल नजिक पुगेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको खेलमा भारतसँग ४२–१८ ले पराजित भएपनि नेपालले अन्तिम चार नजिक पुगेको हो ।
शनिबार भएको अन्य खेलमा पाकिस्तानले दुई खेलमा हार व्यहोरेपछि नेपाल सेमिफाइनल नजिक पुगेको हो । भारत र श्रीलंका भने सेमिफाइनलमा पुगेका छन् ।
अब आइतबार अन्तिम खेलमा नेपालले श्रीलंका तथा पाकिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । अन्तिम खेलमा नेपाल पराजित भएपनि माल्दिभ्सले पाकिस्तानलाई हराउन सके नेपाल सेमिफाइनलमा पुग्नेछ ।
शनिबार नै श्रीलंकाले पाकिस्तानलाई ६८–६ को फराकिलो अन्तरले पराजित गर्यो । एकपक्षीय खेलमा श्रीलंकाकी हिरोनी हिसानीले १८ अंक जोडिन् । यस खेलमा श्रीलंकाकी रिसिनी प्लेयर अफ दी म्याच घोषित भइन् ।
अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६०–१६ स्कोरले पराजित गर्यो । श्रीलंकालाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकी नेथमी विजनायके प्लेयर अफ दी म्याच बन्न सफल भइन् । उनले २४ अंक बटुलिन ।
त्यस्तै भारतले पाकिस्तानलाई ५६–५ को फराकिलो अन्तरले पराजित गर्यो । भारतलाई विजयी बनाउन अञ्जलीले २६ अंकको योगदान दिइन् । यस खेलमा भारतकी मानवी सोनी प्लेयर अफ दी म्याच बनिन् ।