काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले विश्वकप छनोट अन्तर्गत मंसिर पहिलो साता कुवेतविरुद्ध तय भएको घरेलु खेल दशरथ रंगशालामै हुने बताएका छन् ।
विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आगामी मंसिर ३ गते समूह चरणको पाँचौं खेलमा कुवेतसँग दशरथ रंगशालामा खेल्नेछ । यता, त्रिपुरेश्वरस्थित पुननिर्माण हुँदै गरेको रंगशाला समयमा सकिनेमा आशंका उब्जिएको छ ।
तर, सदस्य सचिव सिलवालले दशरथ रंगशालाको पुननिर्माण कार्य समयमै नसकिए पाल टाँगेर भएपनि नेपाल र कुवेतविरुद्धको खेल गराउने बताएका छन् । सदस्य सचिव सिलवालले भिआईपीतर्फको प्याराफिट बनिरहेको तर त्यो नसकिएपनि रंगशालामा खेल हुने बताए ।
‘मंसिर ३ गते दशरथ रंगशालामा खेल खेलाउँछु । मैदान नबन्ने भनेर धेरैले आशंका गरेका छन् । खेल हुन्छ । मैदान बनिसकेको छ । सिट आईसकेको छ । यो हप्तामा सबै सेटिङ हुन्छ ।’ महिला भलिबल टिमको विदाई कार्यक्रममा बोल्दै सिलवालले भने, 'भिआईपी प्याराफिट भएन त के फरक पर्छ । हिजो प्याराफिट नहुँदा पनि हेरेर बसिन्थ्यो । पाल टागेर खेलाए पनि हुन्छ । तर, मंसिर ३ गते रंगशालामै खेल हुन्छ ।’
बिस २०७२ सालको विनाशकारी भुकम्पपछि दशरथ रंगशाला कुनैपनि खेल भएको छैन । तर, नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको लागि भनेर रंगशालाको पुननिर्माण भईरहेको छ । अहिलेसम्म रंगशालामा सेन्थेटिक ट्रयाक, स्कोर बोर्ड, सामान्य प्याराफिटको छाना हाल्ने काम सकिएको छ । अब भिआ पी प्याराफिटको छानो र चारैतर्फ सिट राख्ने काम बाकी रहेको छ ।
यता, अखिल नेपाल फुटलब संघ एन्फाले मैदानमा घास उमार्ने काम गरिरहेको छ ।