काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल भ्रमणमा आउन लागेका चीनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा उत्रन राष्ट्रिय संघहरुलाई आह्वान गरेको छ ।
शनिबार अपरान्ह आउन लागेका चीनियाँ राष्ट्रपतिको स्वागतमा थापाथलीदेखि त्रिपुरेश्वरसम्मको सडकपेटीमा उत्रन राखेपले राष्ट्रिय संघमा आबद्व खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई आह्वान गरेको हो ।
राखेपका संघ संस्था समन्व्य शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले नेपाल र चीनको राष्ट्रिय झण्डा सहित सडकमा उपस्थित हुन खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई निर्देशन दिएको खेलपाटीलाई बताए ।
सोही अनुसार राष्ट्रिय संघलाई पत्राचार गरिएको र टेलिफोनबाट जानकारी गराईएको उनले बताएका छन् ।
चीनियाँ राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणमा शनिबार नेपाल आउदैछन् । उनी दुई दिन नेपालमा रहदाँ केही महत्वपुर्ण सहयोग सम्झौतामा हस्ताक्षर गर्दै उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्नेछन् ।
सरकारले सी सहितका भ्रमण दलका सदस्यलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाएको छ ।
सी आईतबारनै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राखेपले सीको स्वागतमा शनिबार दिउँसो ४ बजे थापाथलीबाट त्रिपुरेश्वरसम्म दुवै देशको राष्ट्रिय झण्डा सहित उपस्थित हुन खेल सम्बद्व अधिकारीलाई आह्वान गरेको छ ।
यस्तै बिदाईमा आईतबार बिहान ११ बजे सोही स्थानमा उपस्थित हुन समेत राखेपको आह्वान छ ।