काठमाडौं । एनआरएनए स्पोर्ट्स एकेडेमीले १७ औं एनआरएनए स्थापना दिवसको अवसरमा आज (शुक्रवार) एनआरएनए हेरिटेज वाकाथनको आयोजना गरेको छ ।
स्वयम्भू भगवान पाउबाट शुरु भई शोभा भगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको उक्त वाकाथनमा गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु, नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र खेलाडीहरु गरी ५ सय बढीले सहभागिता जनाएका छन्।
साे वाकाथनको उद्घाटन गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले गरे ।
उद्घाटन मन्तब्य ब्यक्त गर्दै अध्यक्ष भट्टले स्पोर्ट्स एकेडेमीको स्थापनाले गैर आवासिय र नेपाली खेलाडीलाई एकै ठाँउमा उभ्याउन मदत गर्ने बताए ।
साे अवसरमा एनआरएनएका उपाध्यक्षहरु कुल आचार्य, कुमार पन्त र एनआरएनएका युवा संयोजक सुदन थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
वाकाथनमा नेपालका चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर, जीत बहादुर केसी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायत विभिन्न खेलका राष्ट्रिय खेलाडीहरु थिए।
वाकाथनका क्रममा बाटोमा विभिन्न स्थानीय क्लबहरुले सहभागिहरुलाई स्वागत गरेका थिए।