काठमाडौं । हुन त घरेलु खेलकुद दक्षिण एसियाली खेलकुद सागको तयारीमा छ । खेलाडी र खेल सम्बद्व हरेक व्यक्ती सागकै तयारी तथा व्यस्थापनमा जुटिरहेका छन् ।
सागको मिति नजिकिदै गर्दा बडा दशैंको रौनकताले सबैलाई छोपेको छ ।
राष्ट्रिय टिमका अधिकांश खेलाडी सागमा बन्द प्रशिक्षणमा छन् । दशै मनाउन सरकारले ५ दिनको विदा खेलाडीलाई उपलब्ध गराएको छ ।
सोही अनुसार धेरै खेलाडीहरु दशै मनाउन गृह जिल्ला पुगिसकेका छन् । परिवारिक भेटघाटमा व्यस्त छन् ।
दशैंको अवसरमा राष्ट्रिय महिला फुटबल टिमका सदस्यहरुले दशैलाई कसरी मनाउँदैछन् त ?
खेलपाटीका रमेश सुबेदीले खेलाडीलाई सम्पर्क गरेर उनीहरुको दशै रिपोर्ट तयार गरेका छन् ।
निरु थापा (कप्तान)
यसपटकको दशै विशेष छ । यसअघिका केही बर्ष दशै मनाउन पाएको थिएन । यसपटक दशै आमासँग बसेर मनाउने हो । घर (नेपालगंज) जान पाउदिन, त्यसैले आमालाई (काठमाडौं) बोलाएको छु । यसपटक आमाको हातबाट टिका लगाउँदै छु ।
सावित्रा भण्डारी (स्ट्राइकर )
यस पटक घरमै गएर दशै मनाउँछु । थोरै समयको बिदा छ । थोरै समय भएपनि राम्रो गरेर विताउने मन छ । घरमा पनि आमा बाबाले आश गर्नुभएको छ । घर नगएको पनि धेरै समय भैसकेको छ ।
अघिल्लो बर्ष समेत संगै बसेर रमाईलो गर्न पाईएन । छोटो समयको विदा थियो । थोरै समय छुट्टी हुदाँ घर जाने टिकट र सवारी साधन उपलब्ध हुन सकेन । यो पटकसंगै बसेर मनाउने हो ।
बडा दशैँ भएपनि क्याम्पमा छौ । अरु समयको जस्तो खुल्ला रमाईलो तरिकाले मनाउन पाउदैनौ । बर्षमा एक दुई पटक भेट हुन्छ । दशैमा भेट नहुदाँ मन खल्लो हुन्छ । देशको जिम्मेवारी बोकेपछि सबैतिर हेर्नपर्छ । दशै भनेर धेरै रमाउन हुदैन, शरिरलाई पनि सुधार गर्नुपर्छ ।
दशै भन्दा पनि अहिले भविष्यलाई हेर्नुछ । साग आईरहेको छ । हाम्रो मुख्य लक्ष्य साग हो । दशैको विदा भन्दा पनि सागको तयारीमा रमाउन चाहन्छौ ।
अनिता बस्नेत (मिडफिल्डर, विंगर)
दशैमा घर जान पाउँदिन । काठमाडौंमा मनाउँछु । घर तेह्रथुम हो । आमा बाबा यही आउनुहुनछ । घर जान र आउनै ५ दिन लाग्छ । दशै तिहार नमानेको दुई बर्ष बितिसक्यो । दुबै पटक बाहिर भयौं । अरु योजना केही बनाएको छैन । परिवारसँगनै रमाउँछु ।
हिरा भुजेल ( डिफेन्डर )
परिवारसँग मनाउने हो । घर (उदयपुर) मा गएर दशै मनाउँछु । प्राय दशै रमाईलो हुन्छ । सागले गर्दा दशैमा धेरै समय बिदा मिल्दैन । खेलमा केन्द्रित हुनुपर्छ । सागको तयारी चलिरहेको छ ।
यस्तो अवसर फेरी फेरी आउदैन । दशै भन्दा सागनै लागिरहेको छ । घर परिवारलाई थोरै समय निकाल्दा नरमाईलो त मान्नुहुन्छ । तर मिलाउनुको विकल्प छैन । यसअघिका दशै मनाउन पाईएन । यसपटक घरमै बसेर परिवारसँग रमाउने हो । विशेष भन्ने केही हुदैन ।
एन्जिला तुम्बाप्पो सुब्बा ( गोलरक्षक )
यस पटक घर जान पाउँदिन । काठमाडौंमै रहेर दशै मनाउँछु । घर परिवारलाई मिस गर्छु ।
मन्जली कुमारी योञ्जन ( मिडफिल्डर )
दशैमा छुट्टी पाईयो । घर (रौतहट)मा गएर मनाउनेछु । आमा बाबा हुनुहुन्छ । घर परिवारसँगै दशै मनाउने हो । खेलाडी भएपछि खेल्नै पर्याे, धेरै समयको छुट्टी हुदैन । खेललाईनै ध्यान दिन्छौ ।
अन्जना राना मगर (गोलरक्षक)
घरमै दशै मनाउने हो । यसअघिका दुई बर्ष पारिवारिक कारणले दशै मनाउन पाईएन । समय थोरै छ । जति छ, त्यतिमै रमाउनु पर्छ । घरबाट एक दिनको छुट्टी हुदाँ नि बोलाउनुहुन्छ । दशैमा बिशेष केही हुदैन । अभ्यास समेत राम्रो भईरहेको छ ।
हरि खड्का (मुख्य प्रशिक्षक)
झापामा परिवारको आशिर्बाद लिएर दशै मनाउनेछु । सागको तयारी भैरहेको छ । मुख्य दशै भनेको टिका थाप्नेनै हो । साग हाम्रो लक्ष्य रहेको छ । त्यसका लागि कतिपय कुराहरु त्याग गर्नपर्छ ।
यसपटक काम रमाईलो गरेर दशै मनाउने हो । खेलाडीलाई पनि योजना दिएर पठाएको छु । म पनि घर गएर मनाउँछु ।