काठमाडौं । प्रशिक्षणको दौरान राजेन्द्र विष्टले खुट्टाको कुर्कुच्चामा चोट बोके । उनले प्रशिक्षकलाई आफ्नो चोटबारे थाहै हुन दिएनन् ।
प्रशिक्षकले थाहा पाए टिम बाहिर पर्ने उनलाई डर थियो । चोटै बोकेर उनी बन्द प्रशिक्षणमा सहभागी बने । र, राष्ट्रिय टिममा समेत स्थान बनाउन सफल रहे । उनी अहिले निको अवस्थामा छन् ।
प्रस्तुत घटनाले नेपाली राष्ट्रिय भलिबल टिमका ओपन स्पाइकर राजेन्द्र खेलप्रति कति प्रतिबद्व छन् भन्ने देखिन्छ । खुट्टामा चोट बाकेर उनले राष्ट्रका लागि खेल्ने जोखिम उठाए ।
नेपालले एसियाको सेन्ट्रल जोनका देश सहभागी हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल खेल्दैछ, त्यो पनि घरेलु मैदानमा । राजेन्द्र घरेलु मैदानमा हुने एसियाली स्तरको ठुलो प्रतियोगिता गुमाउन चाहदैनन् ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडी राजेन्द्रको जन्म दार्चुलाको लेखन गाउँपालिकास्थित सर्मुलीमा आमा कौशादेवी र बुवा गम्भीर सिंह विष्टको कान्छा छोराको रुपमा भयो ।
उनले कक्षा ४ सम्मको प्रारम्भिक शिक्षा गाउँमै पढे । त्यसपछि उनले पढ्का लागि गाउँ छाड्न पर्ने भयो । सानैदखि लजालु स्वभावका राजेन्द्र कमै बोल्छन् । धेरै प्रश्नका उनी हासेरै उत्तर दिन मन पराउँछन् ।
कक्षा ५ बाट भलिबल खेल्न थालेका राजेन्द्र गाउँकै अक्कर राणाको खेलबाट प्रभावित थिए ।
‘अक्कर दाई स्पाइकर हुनुहुन्थ्यो । मैले उहाँकै खेल हेरेर खेल्न सिकेको हुँ ।’ उनी सम्झिन्छन्, ‘उहाँले पनि उचाई छ, तिमी नि खेल्नुपर्छ भन्नुहुन्थ्यो ।’
गाउँमा भलिबल नपाउने भएका कारण उनले कपडा र मोजाकै बल सिलाएर खेल्ने गर्थे । पहाडमा खेल मैदानको समस्याले साथीसंग मिलेर उनले खेल्ने मैदान बनाएका थिए । ती मैदान कहिले मन्दिरको छेउमा, त कहिले खोलाको किनारामा हुने गर्थे ।
घरपरिवार पढाइमा ध्यान दिन राजेन्द्रलाई सुझाउथे, तर उनी मुखैले मात्र ठिक्क पार्थे । बाबा, आमाका अगाडी ‘हस बहादुर’ देखिने राजेन्द्र आँखा छलेर भलिबल खेल्न पुगिहाल्थे । उनलाई जेठो दाजु महेशले खेल्नमा साथ दिन्थे ।
स्कुलमा उनी भलिबलका नेता थिए । अर्थात भलिबलका सबै कार्यक्रम गर्ने जिम्मेवारी उनकै हुन्थ्यो । के कति सामान चाहिने ? कति पैसा लाग्ने ? सबैको हिसाब किताब उनै निकाल्थे । अरु विद्यार्थीलाई भलिबल सिकाउने जिम्मेवारी उनकै थियो ।
स्कुल छदाँ उनको टिमले कहिल्यै हार व्यहोर्न परेन । उनको टिम सधै विजयी हुन्थ्यो ।
राजेन्द्र भलिबलको प्रेरणाको स्रोत उनै स्कुलका प्रधानाध्यापक अनि शिक्षकलाई मान्छन् । उसले राजेन्द्रमा भलिबलको पखेटा हालिदिए । उनको सपनाको बेलुनमा हावा भरिदिए ।
‘विभागमा जागिर खानुपर्छ । राम्रो खेलेर क्लबमा छनोट भएर खेल्यो भने तिम्रो भविष्य राम्रो छ ।’ शिक्षक नारद सिंह विष्ट सुझाव दिन्थे ।
राजेन्द्रले पहिलोपटक २०६६ सालमा राष्ट्रपति रनिङ शिल्ड खेलेका थिए । उनले उनी क्षेत्रिय प्रतियोगितामा छनोट भए । तर उनले प्रतियोगिता खेल्न भने पाएनन् ।
कक्षा ४ देखि सेनामा भर्ती हुने लक्ष्य राखेका राजेन्द्र ०६८ मा सेनामा छनोट भए । सेनाको आन्तरिक तालिम सकिएपछि उनी काठमाडौंमा परे ।
पहिलोपटक काठमाडौं आएका राजेन्द्रको कार्यालय नारायणहिटी दरबारमा थियो । तर, राजेन्द्रले भलिबल खेल्छन् भन्ने कसैलाई थाहा थिएन ।
उनी ७० सालमा पोखरामा सेनाको आन्तरिक खेल प्रधानसेनापति खेल्न पुगेका थिए । लगत्तै उनी त्रिभुवन आर्मी क्लबमा छनोट भए । त्यसपछि उनले आर्मीबाट घरेलु प्रतियोगितामा सहभागीता जनाए ।
२०७२ सालमा उनले एसएलसी पास गरे । अनि पढाईलाई थन्को लगाए । लगत्तै उनले १७ महिनाको तालिमा गए । विभागको करिब डेढ बर्षको तालिमपछि उनी भलिबलमा फर्किए ।
‘आफ्नै कारणले १७ महिना तालिममा गए । त्यसपछि भलिबलमा कमब्याक भए । मेरो जीवनमा यो दुखको क्षण हो । जुन मेरो आफ्नै व्यक्तिगत कारणले भयो ।’ उनले भन्छन् ।
विभागमा छनोट भएपछि राजेन्द्रले सातौं र आठौं राष्ट्रिय खेलकुद, एनभिए कप चार पटक, चितवन मेयर कप, पाथीभरा कप, केशवलाल स्मृतिका साथै अन्य प्रतियोगिता खेलिसकेका छन् । राजेन्द्र विष्टले पहिलोपटक व्यक्तिगत विधातर्फ पाथीभरा पुरुष भलिबलमा ‘म्यान अफ द म्याच’ को उपाधि हात पारेका थिए ।
नेपालमा एभिसी सेन्ट्रल जोन भलिबल आयोजना हुने तयारी थियो । राजेन्द्र समेत प्रारम्भिक टोलीमा छनोट भए । विभिन्न चरणको छनोट हुदै उनले १४ सदस्यीय राष्ट्रिय टिममै स्थान बनाउन सफल रहे ।
एभिसी सेन्ट्रल जोनको तयारी स्वरुप नेपालले गत बिहिबार र शुक्रबार अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण भलिबल खेल्यो । त्यहिँ मैत्रीपूर्णबाट राजेन्द्रले राष्ट्रिय टिमबाट डेब्युको अवसर पाए ।
अफगानिस्तानलाई दुवै खेलमा हराउन राजेन्द्रले गज्जबको प्रर्दशन गरे । उनी डेब्यु खेलमै सबैको नजरमा परे । र, नेपाली भलिबलमा लामो दौडको घोडाको रुपमा आफुलाई चिनाए ।
राष्ट्रिय टिममा पर्ने आफ्नो लक्ष्य पुरा भएको राजेन्द्र सुनाउँछन् । उनले जिवनको सबैभन्दा खुसीको क्षणको रुपमा त्यसलाई ब्याख्या गर्छन् ।
‘राष्ट्रिय टिममा पर्नु मेरो लक्ष्य थियो । जुन पुरा भएको छ । म धेरै खुशी छु । घरपरिवार तथा गाँउ घरका सबै मभन्दा खुशी छन् । यो मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो ।’ उनले भने ।