एजेन्सी । विश्वकपको फाइनलमा आज फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गर्दैछ । दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रदै छन् ।
लुजनिकी रंगशालामा फ्रान्स र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार पौने ९ मा सुरु हुनेछ । दुवै टोली उपाधि हात पार्न आफ्नो सबै अश्त्र प्रयोग गर्नेछन् । यस्तोमा विश्वकपको यो फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
उपाधिको लागि मैदान उत्रदै गर्दा दुवै टोलीले आफ्ना एक खेलाडीलाई मुख्य खेलाडीको रुपमा मैदान उतार्ने छन् । जसले खेल आफ्नो पक्षमा पार्न सक्नेछन् । फ्रान्सले कप्तान तथा गोलकिपर ह्युगो लोरिसबाट आशा राखेको छ । यस्तै क्रोएसियाले इभान राकिटीचबाट उत्कृष्ट प्रदर्शनको आशा राखेको छ ।
प्लेयर्स टु वाच
ह्युगो लोरिस (फ्रान्स)
रुस विश्वकपको गोल्डेन गोल्भ्स दाबेदार खेलाडी हुन्, कप्तान ह्युगो लोरिस । विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध मैदान उत्रदा लोरिस फ्रान्सका मुख्य खेलाडी रहने छन् ।
फ्रान्सलाई रुस विश्वकपको फाइनल यात्रा तय गराउन लोरिसले उत्कृष्ट भूमिका निर्वाह गरेका छन् । फ्रान्सको कप्तान समेत रहेका लोरिसले आफुलाई साबित समेत गर्दै आइरहेका छन् । रुस विश्वकपमा पाँच खेल खेलिसकेका लोरिसले मात्र ४ गोल खाएका छन् । जबकी फ्रान्सले जारी विश्वकपमा बिपक्षी टोलीलाई १० गोल गरिसकेका छन् ।
३१ बर्ष पुगिसकेका लोरिसले फ्रान्सबाट १०३ खेल खेलिसकेका छन् । लोरिसकै उच्च प्रदर्शनमा फ्रान्सले विश्वकप उपाधि जित्ने सम्भवाना रहेको छ । उनले जारी विश्वकपमा बिपक्षी खेलाडीको उत्कृष्ट ११ सट रोकेका छन् भने एक पेनाल्टी बचाएका छन् । रुसमा लोरिसले पाँच खेल खेल्दै १२३ पास खेलेका छन् ।
इन्ग्लिश क्लब टोटनह्यामबाट व्यवसायीक फुटबल खेल्दै आएका लोरिसले गत सिजन ३६ खेल खेलका थिए । उनले च्याम्पियन्स लिगमा ७ खेल खेलेका छन् ।
यस विश्वकपमा शानदार खेलिरहेका लोरिस बल रोक्न र साथीलाई उत्कृष्ट बल निकाल्न माहिर मानिन्छन् । लोरिस आजको खेलमा चम्किए क्रोएसियाली फरवार्डलाई गोल गर्न निकै कठिन हुनेछ । यस्तोमा उनले फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।
इभान राकिटीच (क्रोएसिया)
विश्वकप फुटबलको इतिहासमा क्रोएसियाले पहिलोपटक फाइनल यात्रा तय गरेको छ । क्रोएसियाले फाइनलमा आज फ्रान्ससंग खेल्दैछ ।
क्रोएसियाको यो यात्रामा मिडफिल्डर राकिटीचको भूमिका अहम रहेको छ । उनकै प्रेरणादायी मिडफिल्ड भूमिकाले क्रोएसियन फरवार्डलाई गोल गर्न सहज भएको थियो । र, फ्रान्सविरुद्ध पनि उनै राकिटिच महत्वपूर्ण खेलाडी हुनेछन् । बल नियन्त्रण र पास मिलाउन माहिर राकिटिक आज फ्रान्सको लागि धातक बन्न सक्छन् ।
रुस विश्वकपमा क्रोएसियाको यो यात्रामा राकिटीचले ६ खेल खेलेका छन् । सबै खेलमा पुरै समय मैदानमा बिताएका राकिटीचले एक गोल समेत गरिसकेका छन् । राकिटीच मध्ये भागमा बल नियन्त्रण गर्दै अग्रपंक्तिका खेलाडीलाई चलाखीपूर्ण ढंगले उपलब्ध गराउनमा माहिर मानिन्छन् ।
३० बर्षिय राकिटीच स्पेनिस क्लब बार्सिलोनाबाट ला लिगा खेल्ने गर्छन् । गत सिजन बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन राकिटीचले ३५ खेल खेल्दै एक गोल गरेका थिए । च्याम्पियन्स लिगमा १० खेल खेलेका उनले एक गोल गरेका थिए । कोपा डेल रे मा उनले ८ खेल खेल्दै २ गोल गरेका थिए ।