काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
प्रदेश नम्बर ५ ले दिएको १२३ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २१ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश नम्बर ३ का लागि रित गौतमले ३७ तथा रबिन जोशीले ३५ रनको योगदान दिए । रित र रबिनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
कप्तान पारस १ रनमा आउट हुँदा इशान पाण्डेले अविजित २१ रन जोड्दा आदील खानले अविजित १२ रन बनाए ।
प्रदेश ५ का अनिल खरेल र सिदान्त शाहीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
प्रदेश ५ का लागि सुबेन्धु पाण्डेले २० तथा सुरज दरालले १८ रन जोडे । यस्तै सन्दीप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे ।
प्रदेश ५ लाई सस्तैमा समेट्न प्रदेश ३ का लागि कप्तान पारस खड्काले २४ रन खर्चेर ४ विकेट लिए । सुर्य तामाङले ३ तथा नन्दन कुमार यादबले २ विकेट लिए ।
जितसंगै समूह 'ए' को प्रदेश ३ ले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा प्रदेश ३ एपीएफसंग ४१ रनले पराजित भएको थियो ।