काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीको लक्ष्य वेस्ट इन्डिज ‘ए’विरुद्ध धेरैभन्दा धेरै रन बनाउने रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले ब्याट्सम्यानहरूलाई सहयोग गर्ने भएको कारण धेरै भन्दा धेरै रन बनाउने आफ्नो लक्ष्य रहेको सुनाएका हुन्।
‘टियूको कन्डिसन हेर्दा ब्याट्सम्यानहरूलाई फेभर गरिरहेको हुन्छ। बलिङमा अलिकति संघर्ष गरिरहेका हुन्छौँ, स्पेसली डेथ ओभर,’ उनले भने,‘ग्राउन्डको डाइमेन्सन हेर्ने हो भने बलिङहरूलाई अलिक च्यालेन्ज गरिरहेको हुन्छ। त्यसलाई कभर गर्छौँ। र, ब्याटिङ युनिटले भने धेरै भन्दा धेरै रन बनाएर बलिङ युनिटलाई मार्जिन दिने।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ। दोस्रो खेल आइतबार हुने छ।
यस्तै, तेस्रो खेल बुधबार हुने छ। चौथो बिहीबार र अन्तिम खेल शनिबार हुने छ। सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।