काठमाडौँ। कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको १५२ रनको लक्ष्य पछ्याएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो। कतारका कामरान खानले सर्वाधिक ३३ रन बनाए। २३ बल खेलेका उनले ७ चौका प्रहार गरे।
कप्तान मुहम्मद तनवीर ३३, शाहजैब जमिल २४, मोहम्मद इरशाद २२ र मोहम्मद अहनफ १९ रनमा आउट हुँदा हिमान्शु राठोड र गायन मुनविरा ६/६ रनमा अविजित रहे।
मलेसियाका वीरनदीप सिंहले सर्वाधिक २ विकेट लिए। पवनदीप सिंह, मोहम्मद अमिर, मोहम्मद वाफिक र विजय उन्नीले १/१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित १८ ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनायो। मलेसियाका अहमद फैजले सर्वाधिक ३८ रन बनाए। २२ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।
मोहम्मद अमिर ३०, कप्तान वीरनदीप सिंह २६ र शर्विन मुनिन्दी २३ रनमा आउट हुँदा अकिल वाहिद २१ र नजमुस साकिव २ रनमा अविजित रहे। कतारका हिमान्शु राठोडले २ विकेट लिँदा इक्रामुल्लाह खान र गायन मुनविराको नाममा १/१ विकेट रह्यो।
जितसँगै समूह ‘बी’मा रहेको कतारले ३ खेलबाट २ अंक जोडेको छ। कतार चौथो स्थानमा रहेको छ। यस समूहबाट ३ खेलमा ३ जित हासिल गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगिसकेको छ।