काठमाडौँ। महेन्द्रसिंह धोनीले आक्रामक ब्याटिङ गरेसँगै साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
आइतबार राति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो। चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो।
मुम्बईका ओपनर रोहितले अविजित रहँदै १०५ रन बनाए ६३ बल खेलेका उनले ११ चौका र ५ छक्का प्रहार गरे।
तिलक बर्माले २० बलमा ५ चौकासहित ३१ रन बनाए। इशान किशन २३ र टिम डेविड १३ रनमा अविजित रहँदा मोहम्मद नबी ४ रनमा अविजित रहे।
चेन्नईका मथीशा पथिरानाले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। मुस्ताफिजुर रहमान र तुषार देशपान्डेले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।चेन्नईका ऋतुराज गायकवाड तथा शिभम दुवेले अर्धशतक बनाए।
दुवेले ३८ बलमा ६ चौका र २ छक्कासहित अविजित रहँदै ६६ रन बनाए। कप्तान गायकवाडले ४० बलमा ५ चौका र ५ छक्कासहित ६९ रन बनाए।
दुवे र गायकवाडले तेस्रो विकेटका लागि ४५ बलमा ९० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।
रचिन रविन्द्र २१ र ड्यारियल मिचेल १७ रनमा आउट हुँदा महेन्द्रसिंह धोनीले ४ बलमा ३ छक्कासहित २० रनको आक्रामक इनिङ्स खेले।
मुम्बईका हार्दिक पान्ड्याले २ तथा जेरार्ड कोट्जे र श्रेयस गोपालले १/१ विकेट लिए।
छैटौँ खेलबाट चौथो जित हासिल गरेको चेन्नई ८ अंकसहित तेस्रो स्थानमा कायमै रहेको छ। समान खेलमा चौथो हार व्यहोरेको मुम्बई ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।