काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रदान गर्ने अर्वाड जित्न पाउँदा गर्व लागेको बताएका छन् ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण आसिफले बिहीबार स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए ।
'अवार्ड जित्न पाउँदा एकदमै गर्वको अनुभव भईरहेको छ । राष्ट्रको प्रतिनिधित्व गरेर यो सम्मान लिन पाउँदा म मात्र नभई पूरा नेपालले गर्व गरि रहेको छ,' आसिफले खेलपाटीसँग भने 'देशको प्रतिनिधित्व गरेर राम्रो गर्न पाए । आगामी दिनमा समेत यस्ता अवसरलाई पनि सदुपयोग गरिरहने छु ।'
आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।
'त्यो क्षण पनि एकदम अपेक्षा भन्दा बाहिर थियो । त्यस्तो अपेक्षा पनि गरेका थिएनौं ।' करिब एक वर्ष अघिको पल सम्झदै आसिफले थपे, 'त्यो क्षण अहिले पनि सम्झदा के कसरी भयो कुनै थाहा नै छैन । त्यो क्लियर देखिएको थियो ।'
ब्याटरले रन पुरा गर्ने आशा नै मारेर दौडन छाडिसकेका थिए । तर आसिफले रन आउट गरेनन् ।
आसिफलाई तत्कालिन कप्तान सन्दीप लामिछानेले पनि रन आउट नगर्न भनेका थिए ।
'सन्दीपले पनि मलाई भनेको थिए । त्यहाँ नजिकै सन्दीपले फिल्डिङ गरेको थिए । सन्दीपले पनि मलाई हैन नगर-नगर भने । मैले पनि गरिन,' आसिफले भने ।
आफ्नो यस कार्यलाई आईसीसीले जुन सम्मान दियो यसले क्रिकेटमा आईरहेका नयाँ पुस्ताका लागि थप प्रेरणा मिल्ने आसिफ बताउछन् ।
यस्तो थियो उक्त सन्दर्भ गतवर्ष फागुनमा ओमानमा आयोजना भएको चार देश सम्मिलित टी-ट्वान्टी सिरिज आयोजना भएको थियो ।
सिरिजको अन्तिम खेलमा ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले आयल्याण्डसँग खेलेको थियो । सो खेल नेपालले १६ रनले गुमाएको थियो । आयरल्याण्डविरुद्ध कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आडिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी भने ऐरीसँग अल्झिएर लड्न पुगेका थिए ।
लडेका म्याकबर्नी उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले आसिफलाई बल दिए । आसिफले उनलाई सहजै रन आउट गर्न सक्थे ।
म्याकबर्नीले रन पूरा गर्ने नसक्ने अपेक्षा सहित दौडिन छाडेका थिए । तर, सबैलाई आश्चर्य पार्दै आसिफले बल स्टम्प नजिक लगेपनि रन आउट भने गरेनन् ।