काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामै रहेको बताएको छ । आईतबार बिज्ञप्ति निकाल्दै क्यानले मुख्य प्रशिक्षक नियुक्ति प्रक्रियामै रहेको बताएको हो ।
खेलपाटी डट कमले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको खबर सार्वजनीक गरेको थियो ।
क्यानले समाचारको बारेमा थप स्पष्ट पार्दै मुख्य प्रशिक्षक छनोट समितिले छनोट प्रक्रिया पुरा गरि सिफारिस गरिएका मुख्य प्रशिक्षक क्यानको कार्यसम्पादन, कार्यसमिति सदस्यको सहमतीमा नियुक्तिका लागि राखेपसँग अनुमती माग्ने र अनुमति पश्चात नियुक्ति प्रक्रिया पुरा हुने बताएको छ ।
यसअघि खेलपाटीसँग कुरा गर्दै क्यानका एक अधिकारीले देशाईलाई मुख्य प्रशिक्षकको रुपमा नाम सिफारिस गरिएको बताउँदै केही दिनमा नाम सार्वजनीक गरिने बताएका थिए ।
क्यानले खुल्ला आह्वानमार्फत राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छनोट गर्दैछ । क्यानले २४ जनाले मुख्य प्रशिक्षक बन्न निवेदन दिएको सुचना जारी गरेको थियो ।
प्रशिक्षक छनोट कमिटीले देशाईलाई मुख्य प्रशिक्षकको रुपमा चयन गर्दै क्यानसमक्ष सिफारिस गरेको थियो ।
क्यानको कार्यसम्पादन समितिका सदस्यले समेत देशाईको नामलाई अनुमोदन गरेका पारित गरेको क्यानका एक अधिकारी बताउँछन् ।