काठमाडौं । पाकिस्तानका ओपनर फकर जमानले १ सय १ रनको शतकीय ईनिङ खेलेपछि पाहुना टोली न्युजिल्याण्डले तेस्रो एकदिवसीय खेलमा पाकिस्तानबाट २ सय ८१ रनको लक्ष्य पाएको छ ।
कराँचीमा जारी खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गरेकोमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो ।
घरेलु टोलीले २ रन बनाउँदा पहिलो तथा २१ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटका लागि फकर जमान र मोहम्मद रिजवानले १ सय ५४ रनको साझेदारी गरे । रिजवान ७७ रनको अर्धशतकीय ईनिङ खेल्दै ईस सोधीको बलमा बोल्ड आउट भए ।
१ सय २२ बलमा १ सय १ रन बनाउँदै रन आउट भएका जमानले १० चौका र १ छक्का प्रहार गरे । आगा सलमानले बलमा ४५ रनमा आउट हुदाँ हरिस सोहेल २२ रनमा आउट भए ।
पाहुना टोलीका लागि टिम साउदीले तीन तथा लकि फर्गुसनले दुई विकेट लिए । माईकल ब्राकवेल र ईस सोधीले समान एक एक विकेट आफ्नो नाममा गरे ।
दुई टोली बीचको तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा रहेकोले यो खेल जित्ने टोलीले सिरिज जित्नेछ ।