काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी सिरिजको उपाधि पाकिस्तानले जितेको छ ।
सिरिजको फाईनल खेलमा पाकिस्तानले घरेलु टोली न्युजिल्याण्डलाई हराएको छ । क्राइसचर्चमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा मोहम्मद नवाजले अविजित रहदै ३८ रन बनाउँदा मोहम्मद रिजवानले ३४ रन जोडे । हैदर अलिले ३१ तथा ईफ्तिखार अहमदले अविजित २५ रन बनाए । शान मसुदले १९ तथा कप्तान बाबर अजामले १५ रन बनाए ।
न्युजिल्याण्डका मिचेल ब्राकवेलले २ तथा ईश सोधी,टिम साउदी र ब्लैर टिक्नरले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुम्मयेर १ सय ६३ रन जोडेको थियो ।
न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ५९ रनको अर्धशतकीय पारी खेले । ग्लेन फिलिप्सले २९ तथा मार्क च्याम्पम्यानले २५ रन बनाएका थिए ।
जेम्स निशमले १७ रन जोड्दा डेभोन कोन्वेले १४ रन बनाएका थिए । पाकिस्तानका हरिस राउफ र नशिम शाहले समान २/२ तथा मोहमद नवाज र सादब खानले समान १/१ विकेट लिए ।
सिरिजमा पाकिस्तानसहित घरेलु टोली र बंगलादेशको सहभागीता रहेको थियो ।