काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल)मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले लगातार तेस्रो जित निकालेको छ ।
शार्कले तेस्रो जित निकाल्ने क्रममा बुधबार गुजनवाला जाईन्ट्सलाई ४४ रनले पराजित गरेको हो ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा शार्कले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको जाईन्ट्सले १५ दशमलव ४ ओभरमा अलआउट भएर ८७ रन मात्र बनाउन सक्यो ।
जाईन्ट्सका लागि शभोन डानियलले २८ रन तथा म्याथ्यु ट्रोम्पले १४ रन बनाए । हसाईन मजाईदले १० तथा अलि अस्फादले ८ रन बनाए ।
शार्कका लागि अराफत मिनासले ४ तथा साद मसुद र मोमिन कमारले समान २-२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको शार्कले २० ओभरमा १० विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । शार्कका अराफात मिनासले ३७ तथा लुका बेकिस्टईनले २६ रन बनाए । डानियल ईब्राहिमले १५ तथा मोहम्मद शोयबले १४ रन बनाए ।
जाईन्ट्सका मोहम्मद ईब्टिसम र हसन अलि जुनियरले समान २ २ विकेट लिए । टोम हस्पिनवाल, अलि असफान्ड र म्याथ्यु ट्रोम्पले समान १-१ विकेट लिए ।
लगातार तेस्रो जित हात पारेको शार्क ३ खेलमा ६ अंक सहित र्शीष स्थानमा उक्लिएको छ ।
यस खेल कुशलले भने खेलेका थिएनन् । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी(ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यसअघि यूएईमा आयोजना भएको टी १० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।