काठमाडौं । छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिता जेठ अन्तिम साता पोखरामा हुने भएको छ ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ २३ देखि २५ गतेसम्म हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लबका २० महिला र पुरुष गरि ४० टोलीको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए । हरेक प्रदेश र विभागीय टोलीको २/२ टिम रहने संघले जनाएको छ ।
प्रतियोगिताको महिला र पुरुष विजेताले समान ३० हजार, दोस्रो हुने टोलीले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै संघले यसै प्रतियोगिताबाट खेलाडी छनोट गरेर राष्ट्रिय टोलीको चयन गरिने बताएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीका खेलाडी समेटेर क्लोज क्याम्प गर्दै राष्ट्रिय टिम बनाइने संघले जनाएको छ ।
यसै डिसेम्बरमा नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली विच भलिबलको तयारीका लागि संघले प्रतियोगिता गर्न लागेको समेत जनाएको छ ।