काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दैछ । भुटानविरुद्वको खेल नेपाली टिमका लागि सहज हुने अपेक्षा छ । कारण, यसअघिका दुवै भेटमा नेपालले फराकिलो अन्तरले भुटानलाई हराएको थियो । अर्को तथ्य भनेको भुटानले साफमा अहिलेसम्म एक खेल समेत जित्न सकेको छैन ।
पछिल्लो समय घरेलु फुटबलमा निकै राम्रो प्रगति गरेको भुटानले महिला टिममा भने त्यसको प्रभाव देखाउन सकेको छैन । सोही कारण महिला टिमको प्रतिस्पर्धामा नेपालले भुटानलाई सहजै हराउने अपेक्षा गरिएको छ ।
भुटानविरुद्व उत्रदै गर्दा सबैको नजर सावित्रा भण्डारीमा हुनेछ । कारण, नेपाल मात्र नभएर दक्षिण एसियाली महिला फुटबलमै सावित्रा उत्कृष्ट फरवार्ड हुन । अर्को कुरा भुटानविरुद्व उनको प्रर्दशन समेत प्रभावशाली रहदै आएको छ ।
साफमा नेपालले भुटानसंग दुई पटक भिडेको छ । दुवै खेलमा सावित्रा गोल गर्न सफल भएकी थिईन् । अझ पछिल्लो पटक भारतमा भएको साफ च्याम्पियनसिपमा सावित्राले भुटानको पोस्टमा डबल ह्याट्रिक गर्न सफल भएकी थिईन् ।
के घरेलु मेदानमा सावित्राले सोही प्रर्दशनलाई दोहर्याउन सफल होलिन् ? प्रश्न सान्दर्भिक बनेको छ ।
नेपाल अघिल्लो महिना भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो । प्रतियोगितामा सावित्राले उत्कृष्ट खेल प्रर्दशन गर्दै सर्वाधिक गोलकर्ता समेत बनेकी थिईन् । त्यसैले समेत सबैको नजर सावित्रामा अडिएको छ ।
खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा हरि खड्काले समेत भने, सावित्रा टिमकी मुख्य खेलाडी हुन् । उनीबाट ठुलो अपेक्षा छ । उनी अहिले फिट समेत छिन् ।
सावित्राबाट नेपाली टिमले समेत साफ च्यामिपयनसिपमा ठुलो अपेक्षा गरेको छ ।