पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा शुक्रबार सुदुरपश्चिमले जित निकालेको छ ।
लामाचौरस्थित गोस्टे खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५-३ गोलले हराएको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । ३८ औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १-० को अग्रतामा रह्यो । पहिलो हाफमा १-० ले रोकिएको खेलको दोस्रो हाफमा कुल ७ गोल भयो ।
खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २-१ को स्थितिमा खेल पुर्राए । ७७ औं मिनेटमा कुवेर सिंहले गोल गर्दै ३-१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । ८४ औं मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३-२ को स्थितिमा पुर्याउदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसको २ मिनेट पश्चात अर्थात ८६ औं मिनेटमा सुदुरका शसांक बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए ।
खेलको ९४ औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जित निश्चित गराए । त्यसको १ मिनेट पनि वित्न नपाउँदै कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपनि जितका लागि पर्याप्त रहेन । उनले खेलको ९५ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
प्रतियोगिता अन्तरगत शनिबार २ खेल हुनेछन् । समूह बी अन्तर्गत मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए अन्तरगत प्रदेश नं. १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछन् ।