काठमाडौं । आयोजक झापा-११ चौथों संस्करणको झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा सहारा फुटबल क्लब पोखरालाई २-० गोल अन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
डोमालाल राजवंशी रंगशालामा झापालाई जित दिलाउन करीम बुसारी र सन्जोग राईले एक एक गोल गरे । झापाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ३९ औं मिनेटमा बुसारीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४५ औं मिनेटमा सन्जोगले गोल गर्दै झापालाई २-० को जित दिलाए । सन्जोग खेलमा म्यान अफ दि म्याच चुनिए ।
अब झापाले क्वाटरफाइनलमा हङकङ नेप्लिज एकेडमीसंग खेल्नेछ ।
झापा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।