पोखरा । रुस्लान थ्री स्टार क्लबले १७ औं संस्करणको आहा–रारा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा विभागीय टिम आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
उपाधिसंगै थ्री स्टारले ८ लाख नगद पुरस्कार प्राप्त गरेको छ । योसंगै थ्री स्टारले आहा–रारा गोल्डकपको उपाधि पाँचौ पटक जित्न सफल भएको छ । उपविजेता बनेको आर्मीले ४ लाख रुपैयाँ प्राप्त गर्यो । आर्मी पुन: आहा राराको उपाधि जित्न असफल भएको छ ।
पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा थ्री स्टारले ५-४ ले बाजी मार्यो ।
टाईब्रेकरमा आर्मीका भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र टंक बस्नेतले गोल गरे । विकेश कुथु र विकास खवासको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले बचाए । थ्री स्टारका रञ्जित धिमाल, रुपेश केसी, विक्रम लामा, अन्नत तामाङ र मिक्छेन तामाङले गोल गरे । सुशील राईको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
त्यसअघि खेलमा सुरुवाती अग्रता आर्मीले पाँचौ मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट लिएको थियो । तर, रञ्जित धिमालले ४५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काएका थिए ।
निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १५ औं मिनेटमा बिमल पाण्डेले गोल गर्दैै आर्मीलाई २–१ को अग्रता दिलाए । तर,खेलको अन्तिम समयतिर थ्री स्टारका पिटरले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
यस्तै दुवै टोलीले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेका थिए । अतिरिक्त समयको आठौं मिनेटमा थ्री स्टारका सुनिल बल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । आर्मीका बिकाश खवासलाई फल गरेपछि सुदिस पाण्डेले सुनिललाई सिधै रातो कार्ड देखाएका थिए ।
त्यस्तै प्लेईङ सूचीमा नभएका आशिष शाक्यलाई आर्मीले खेलाएपछि अन्तिम समय विभागीय टिम समेत १० खेलाडीमा सिमित बनेको थियो ।