काठमाडौँ। दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगामा पराजित भएको छ।
सानटियागो बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडसँग बार्सिलोना ३-२ गोल अन्तरले पराजित भएको हो।
खेलको छैटौँ मिनेटमा नै एन्ड्रेस क्रिस्टेन्सनले गोल गर्दै बार्सिलोनलाई शुरूआती अग्रता दिलाएका थिए। उनले राफिन्हाको पासमा गोल गरेका थिए।
तर, त्यसको १२ मिनेटपछि नै भिनिसियस जुनिअरले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। ६९औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए।
तर, त्यसको चार मिनेटपछि नै भिनिसियसको पासमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई खेलमा फर्काए।
दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई जित दिलाए। उनले लुकासको पासमा गोल गरेका थिए।
जितसँगै शीर्ष स्थानमा रहेको रियलले ११ अंकको अग्रता बनाएको छ। रियलको ३२ खेलबाट ८१ अंक रहेको छ भने समान खेल खेलेको बार्सिलोनाको ७० अंक मात्रै रहेको छ।