काठमाडौँ। कप्तान लिओनल मेसी र लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ।
चेस स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा मियामीले न्यूयोर्क रेड बुल्सलाई ६-२ गोल अन्तरले पराजित गरेको हो। मियामीको जितमा सुआरेजले ह्याट्रिक पूरा गरे। यस्तै, मेसीले ५ असिस्ट प्रदान गरेका थिए।
खेलको ३०औँ मिनेटमा दान्टे भान्जेइरले गोल गर्दै न्यूयोर्कलाई शुरूआती अग्रता दिलाएका थिए।
४८औँ मिनेटमा म्याथिस रोजासले गोल गर्दै मियामीलाई खेलमा फर्काए। उनले मेसीको पासमा गोल गरे। ५०औँ मिनेटमा लुइस सुआरेजको पासमा मेसीले गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए।
६२औँ मिनेटमा मेसीले दिएको पासमा रोजासले नै गोल गर्दै मियामीको अग्रता ३-१ मा पुर्याए। ६९औँ मिनेटमा मेसीकै पासमा सुआरेजले मियामीका लागि व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे।
७५औँ र ८१औँ मिनेटमा सुआरेजले गोल गर्दै ह्याट्रिक पूरा गरे। दुवै गोल मेसीको पासमा सम्भव भएको थियो। दोस्रो हाफको इन्ज्युरी समयको सातौँ मिनेटमा न्यूयोर्कका एमिल फोर्सबर्गले गोल गरेपनि मियामी ६-२ ले विजयी भयो।
जितसँगै शीर्ष स्थानको मियामीले १२ खेलबाट २४ अंक जोडेको छ। ११ खेलबाट १७ अंक रहेको न्यूयोर्क आठौँ स्थानमा छ।