काठमाडौँ। पुल्चोक स्पोर्ट्स क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा बिहीबार सम्पन्न पहिलो खेलमा झम्सिखेल यूथ क्लबमाथि पुल्चोकले ४-१ गोल अन्तरको जित हासिल गरेको हो।
पुल्चोकको जितमा शायर ब्लो तामाङले २ गोल गरे। यस्तै, मदन पौडेल र समीप ढकालको नाममा १/१ गोल रह्यो। झम्सिखेलका ओम धामीको गोल सान्त्वना रह्यो।
खेलको १८औँ मिनेटमा ओमले गोल गर्दै झम्सिखेललाई शुरूआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा मदनले गोल गर्दै पुल्चोकलाई खेलमा फर्काए।
पहिलो हाफको इन्ज्युरी समयको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै शायरले पुल्चोकलाई २-१ को अग्रता दिलाए। ५१औँ मिनेटमा उनले नै गोल गर्दै पुल्चोकको अग्रता ३-१ मा पुर्याए।
६४औँ मिनेटमा समीपले गोल गर्दै पुल्चोकलाई ४-१ को जित दिलाए। पुल्चोकले ३ खेलबाट ३ जितसहित ९ अंक जोडेको छ। झम्सिखेलको यो दोस्रो हार हो। समान खेल खेलेको झम्सिखेलको ३ अंक रहेको छ।