काठमाडौँ। आरसी ३२ ले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार सम्पन्न खेलमा आरसी ३२ ले महावीर क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो।
आरसी ३२ को जितमा विवेक राईले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको २८औँ मिनेटमा गोल गरेका थिए।
महावीरका अनिश चक्रधरले डीबक्सनजिक आशिष लावतीलाई लडाएपछि आरसी ३२ ले फ्री किक पाएको थियो। उक्त फ्रीकिकलाई विवेक सन्तोषीले प्रहार गरेका थिए।
सिधैँ हातमा पुगेको बललाई महाबीरका गोलरक्षक अशिब राईले नियन्त्रणमा लिन सकेनन्। त्यही रिबाउन्डमा आएको बललाई विवेकले गोलमा परिणत गरेका हुन्।
आरसी ३२ को लगातार तेस्रो जित हो। जितसँगै आरसी ३२ ले ३ खेलबाट ९ अंक जोडेको छ। महावीरको भने यो पहिलो हार हो। समान खेलबाट महावीरको २ अंक रहेको छ।