काठमाडौँ। अल–नासारका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।
गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए।
यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ।
उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले प्रहार गरेका थिए। हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरेका थिए। नासरको लागि साडियो मानेले एक गोल फर्काए।
रोनाल्डोले मैदान छाड्दा रेफ्रीलाई समेत मुक्का ताकेका थिए। यसका लागि थप सजाय हुन सक्ने साउदी अरबका मिडियाहरूले जनाएका छन्। यद्यपि, अल–नासारका मुख्य प्रशिक्षक जर्ज जेससले रोनाल्डोको यस हर्कतबाट आफू दुखी नभएको प्रतिक्रिया दिएका छन्।
‘उसलाई आफ्नो करिअरमा हार्ने बानी छैन। हारमा भावनात्मक र मानसिक सन्तुलन गुमाउनु स्वाभाविक हो। उनले पनि सन्तुलन गुमाए,’ उनले भने।
रोनाल्डोको यो पहिलो रातो कार्ड हो। यद्यपि, उनीमाथिको प्रतिबन्ध भने दोस्रो पटक लागेको हो। गत फेब्रुअरीमा अल–शबाबविरुद्धको साउदी प्रो लिग खेलमा आपत्तिजनक इशारा गरेको भन्दै उनलाई एक खेलमा निलम्बन गरिएको थियो।
रियल मड्रिड, युभेन्ट्स र म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डोले साउदी लिगमा हालसम्म २९ गोल गरिसकेका छन्। उनी दोस्रो स्थानमा रहेका अल–हिलालका एलेक्सान्डर मिट्रोभिकभन्दा ७ गोलले अगाडि छन्।
अल–नासर लिगमा दोस्रो स्थानमा छ। ७ खेल बाँकी रहँदा अल–हिलालको २७ खेलबाट ७७ अंक रहेको छ भने अल–नासरको ६५।